सुस्तायो घरजग्गा कारोबार, राजस्व संकलन साढे ८ अर्बले घट्यो

काठमाडौं, ७ असार । कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबार नाटकीय रुपमा धरासायी बनेको तथ्यांकले देखाएको छ ।

मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्ने लगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ ।

कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ । चैतसम्म हरेक महिना नयाँ रेकर्ड कायम गर्दै आएको घरजग्गा कारोबार बैशाखमा ५० प्रतिशतले घटेको थियो ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतमा ८७ हजार १८७ घरजग्गा किनबेच भएको थियो । बैशाखमा आउँदा यो संख्या घटेर ४३ हजार ३९० मा सिमित भएको थियो । जेठमा आइपुग्दा कुल १ हजार ४ सय ९५ वटामै खुम्चिएको विभागले जनाएको छ।

झापा जिल्लामा मात्रै १० हजार बढी कारोबार भएको देखिन्छ। घरजग्गाको बढी कारोबार हुने जिल्लामा ५ हजार आसपास भएका छन्।

जेठ महिनामा बढी कारोबार हुने मालपोत कार्यालय बाराको कलैयामा ३ सय ८७ वटा कारोबार भएका थिए। जेठ महिनामा अपार्टमेन्टसम्बन्धी कारोबार र जग्गा दर्ता कारोबार शून्य रहेको विभागको तथ्यांकले देखाएको छ।

जस अनुसार जेठ महिनामा घरजग्गा कारोबारबाट जम्मा २ करोड ७२ लाख रुपैयाँ मात्र राजस्व उठेको छ। चालू आर्थिक वर्षको चैतमा ८ अर्ब ५९ करोड राजस्व उठेको थियो। बैशाखमा मुलुकभरका मालपोत कार्यालयबाट ४ अर्ब २९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

उक्त राजस्व सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वछता अभियान कोष शुल्क लगायतबापत उठेको विभागले जनाएको छ।

पुसदेखि चैतसम्म हरेक महिना घरजग्गा किनबेचमा रेकर्ड ब्रेक हुँदै आएको थियो । तर, अहिले कोरोनाको मारमा घरजग्गा व्यवसाय पनि परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here