तिनकुने पुल निर्माणमा पप्पुको लापरवाही, कारवाही गर्न विकास समितिकाे निर्देशन

काठमाडौं, ३१ जेठ । तीनकुने स्थित बाग्मती नदीमा आर्क ब्रिज निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले निर्माणको क्रममा गम्भिर लापरबाही गरेको संसदको विकास तथा प्रविधि समितिले ठहर गरेको छ ।

समितिका सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा समितिका सदस्यहरु, विज्ञ र समिति सचिवालयका कर्मचारीहरु समेतको टोलीले जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गरेको थियो ।

समितिले निर्माणाधिन पुलको स्थलगत निरिक्षण पछि एक प्रतिवेदन तयार गरेको छ जसमा २९.५ मिटर गहिरो १६ वटा पाइल्स निर्माण गर्नुपर्नेमा एउटा पाइल १६.५ मिटर गहिरो मात्रै निर्माण गरिएको र दुईवटा पाइल्स क्र्याक भएको देखिएको उल्लेख छ ।

निर्माणको क्रममा त्रुटी भएको भेटिएपछि सडक विस्तार आयोजनाले समस्या समाधान गरेर काम अगाडि बढाउन दिएको निर्दैशन पालना नगरी पप्पुले काम अगाडि बढाएको र स्ल्याब ढलानको तयारी गरेको पनि समितिले बताएको छ ।

तिनकुने स्थित अरनिको रागमार्गमा बाग्मती नदीमाथि २ वटा आर्क प्रविधिको पुल निर्माण गर्ने गरी पप्पुले २१ करोडमा ठेक्का लिएको थियो ।

२०७५ असारमा काम सक्नेगरी २०७१ पुसमा ठेक्का लिएको पप्पुले काममा ढिलासुस्ती मात्रै नगरी निर्माणको क्रममा पनि लापरबाही गरेको समितिले बताएको छ ।

समितिले पुलको डिजाइन परिमार्जन गरी सोही अनुसार निर्माणको काम अघि बढाउन र व्यवस्था मिलाउन र उपत्यका सडक विस्तार आयोजनाको निर्देशन पालना नगरी मनोमानी ढंगले निर्माणकार्य जारी राख्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न पनि निर्देशन दिएको छ ।

प्रतिवेदनमा के के लेखिएको छ ?

पुलको वर्तमान अवस्था एवं देखिएका समस्याहरुः

१. अरनिको राजमार्गको तीनकुने स्थित बाग्मती नदी (कोटेश्वर तर्फ जाँदा) को बायाँ तर्फ निर्र्माण भईरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको ।

२. २९.५ मिटर गहिरो(लम्बाई)का १६ वटा (१२००mm) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको पाईयो । तर निर्माण व्यवसायीले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र २(दुई) वटा पाइल्स अचबअप भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीबाट जानकारी भयो ।

३. निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइयो ।

४. आयोजनाले पुल रि डिजाइन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएपछि व्यवसायीले रि डिजाइन तयार गरी पेश गरेको तर सो परिमार्जित डिजाइनमा चित्त नबुझेपछि आयोजनाले उक्त डिजाईन इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा पठाएको जानकारी प्राप्त भयो ।

५. पुलमा देखिएको समस्या समाधानका लागि इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा पठाइएको डिजाईन तहाँबाट परिमार्जित भई हालसम्म प्राप्त हुन नआएको सडक विस्तार आयोजना मार्फत जानकारी प्राप्त भयो ।

६. सडक विस्तार आयोजनाले आयोजना पूर्व तयारी सम्पन्न नगरि ठेक्का लगााएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउनै ६ महिना लागेकाले पनि आयोजनाको काम समयमै आरम्भ हुन नसकेको तथ्य पनि जानकारीमा आयो ।

७. पुल निर्माणका लागि नदीमा ठड्याईएका फलामका फर्मा(टेको)हरुले बस्ती डुबानमा परेको स्थानीय बासिन्दाहरुको गुनासो आएपछि समिति सभापतिबाट तत्कालै फर्माहरु हटाएर सम्भावित डुबान रोक्न निर्देशन भयो र आयोजना तथा निर्माण व्यवसायीले फर्मा हटाउने प्रतिवद्धता व्यक्त गरे ।

८. पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावनादेखिएकाले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन भयो ।

निष्कर्ष तथा सुझाव

समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने ।

डिजाइन एण्ड बिल्ड मोडलमा निर्माण भैइरहेका अन्य सडक तथा पुलहरुमा उत्पन्न हुन सक्ने समस्याहरुको तत्काल समाधानका लागि उचित व्यवस्था गर्ने ।

डिजाइन एण्ड बिल्ड मोडलका अन्य काम अघि बढाउँदा आईपर्नसक्ने सम्भावित समस्याहरुको समाधानको यथोचित उपाय ठेक्का लगाउनु अघि नै समाधान गर्न सक्ने परामर्शदाता वा निकाय छनौट गरिसक्नुपर्ने ।

आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने ।

काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने ।

निर्माण कार्यको प्रकृति(नेचर) हेरेर बिभिन्न सिफट्हरुमा विभाजन गरि अघि बढेका कार्यहरुको अनुगमन तथा निरिक्षणका लागि जुनसुकै समयमा कार्यक्षेत्रमा आयोजना सम्वद्ध पदाधिकारीहरु उपस्थित हुनुपर्ने ।

निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्वद्ध पदाधिकारीहरुले आवश्यकता अनुसार पटक पटक प्राविधिक परिक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here