जीवन विकास लघुवित्तको आइपीओ आवेदनमा नयाँ रेकर्ड, कतिले भरे ?

काठमाडौं, १५ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा १६.९१ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिमदिन मंगलबार साँझ ५:३० बजेसम्म ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ ।

जसमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा यो नयाँ रेकर्ड हो । यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए ।

यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए । जीवन विकासले यसलाई पनि पछि पारेको हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता (५ प्रतिशत) सामूहिक लगानीकोषका लागि लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधरणले पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here