कोरोनाभन्दा महँगीको मारमा उपभोक्ता, एक महिनामै तरकारीको भाउ दोब्बर

काठमाडौं, २० असार । पछिल्लो एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य दोब्बर बढेको पाइएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार गएको १ महिनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको हो ।

वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यसको अलवा पर्याप्त मात्रामा हरिया तरकारी कालिमाटी भित्रन नसक्नुका कारण पनि केही महङ्गो भएको बताईएको छ ।

जेठ १८ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १८ मा (शुक्रबारको तथ्यांक अनुसार) दोब्बर वृद्धि हुँदै प्रतिकेजी ८० रुपैयाँ कायम भएको पाइएको छ । तितेकरेलाको प्रतिकिलो २७ रुपैयाँबाट ७० रुपैयाँ पुगेको छ ।

त्यसैगरी भिन्डीको मूल्य पनि १ सय १५ प्रतिशतले वृद्धि हुँँदै प्रतिकिलो ३५ रुपैयाँबाट ७५ रुपैयाँ पुगेको छ भने राजमाको मूल्य पनि २ सय प्रतिशतले बढेर प्रतिकिलो ३५ रुपैयाँबाट १ सय ५ रुपैयाँ पुगेको छ । घिरौला, लौका, बोडीलगायतका तरकारीको समेत प्रतिकिलो २० रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।

यसरी तरकारी तथा फलफुलको मुल्य बढेपछि यसको प्रत्यक्ष मार उपभोक्ताको भान्सामा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here