डेँगुविरुद्ध सचेतना तीब्र पार्दै रेडक्रस

काठमाडौं, ३२ जेठ । धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेको छ ।

धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेको नेपाल रेडक्रस सोसाइटीले बताएको छ ।

‘४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हँसिया लिएर सरफाईमा जुटेका छौँ,’ धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्का बताए । यसक्रममा १५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कायस्थ, वार्ड अध्यक्ष लगायत शिक्षक, बिद्यार्थीहरु र टोल बिकास संस्थाहरु सरसफाइमा सक्रिय रहेका छन् ।

डेंगुको प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५ सय भन्दा वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताएका छन् ।

अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।

झापामा आठ वटा केस देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिएका छन् । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको छ ।

त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे छ । सचेतनाको लागि पर्चा टाँस्ने काम सुरु गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here