महाभारत डाँडामा पदयात्रागर्ने हो ? एक वर्ष पर्खनुस् (फोटो फिचर)

क्लाउडपत्रिका

काठमाडौं । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाँडैडाँडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् ।

टोली नमोबुद्धबाट सिन्धुलीगढी हुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको थियो । सिन्धुलीगढी नपुग्दै दिनहुँ पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केहीदिनका लागि स्थगित गरिएको अभियन्ता सौरभ ढकालले बताए ।

ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । ‘यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केहीदिनका लागि पदयात्रा स्थगित गरेका छौं,’ ढकालले भने, ‘मौसममा सुधार हुनासाथ यात्रालाई निरंतरता दिनेछौं ।

महाभारत डाँडामा पानी पर्नासाथ जुका लाग्छ । पदमार्गमा पानीपर्दा चिप्लिने जोखिम त्यतिकै हुन्छ ।’

समृद्ध सिन्धुली अभियानको टोलीपूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँपदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । पदयात्राबारे जानकारी दिन सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा घिमिरेले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीयतहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनले बताए ।

राजधानीबाट नजिकै रहेको यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र वनस्पति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्नसमेत उपयोग गर्न सकिने देखिएको छ,’उनले भने । आगामी फागुनमा समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए ।

अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढी हुँदै, रतनचुरासम्मको यात्रा गरेको थियो ।

यात्राकाक्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगायतका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएको थियो । महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here