कोरोनाविरुद्धको खोप किन्न एडीबीले २० अर्ब रुपैयाँ ऋण दिने

काठमाडौं, ७ साउन । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोनाविरुद्धको खोप किन्न करिब २० अर्ब रुपैयाँ ऋण दिने भएको छ ।

बिहीबार विज्ञप्ति जारी एडीबीले कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुर्‍याउन नेपाललाई १६५ मिलियन डलर ऋणका रूपमा उपलब्ध गराउने जानकारी दिएको हो ।

यो रकमले करीव १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने भएको छ । एडीबीले डिसेम्बर २०२० मा सार्वजनिक गरेको नौ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई ऋण दिन लागेको हो।

एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले अत्यावश्यक कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उनले बताएका छन् ।

छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । यसअघि सन् २०२० डिसेम्बर एडिबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले यो सहयोग पाएको हो ।

नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ। सरकारी अधिकारीहरूले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने बताउँदै आएका छन्।