भारतले भन्यो-‘तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन’

काठमाडौं, १६ साउन । दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै घटनाबारे बाहिर आएको जस्तो संलग्नता एसएसबीको नरहेको दाबी गरेका हुन् ।

ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।

घटनापछि युवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको जनाएको छ । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेका छन् ।

उक्त घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ भने विभिन्न राजनीतिक दल तथा संगठनहरूले छानविनको माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here