‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’

काठमाडौं, १८ साउन । कोरोना संक्रमणदर घटे भदौ पहिलो साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने यातायात व्यवस्था विभागले तयारी गरेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिड महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी भईरहेको छ ।

‘कोरोनाको संक्रमण दर घट्दै गए भदौ पहलिो साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी विभागले गरिरहेको छ ।’ महानिर्देशक घिमिरेले क्लाउड पत्रिकासँग भने, ‘अब खुल्ने ट्रायल तथा लिखित परीक्षा नयाँ व्यवस्था अनुसार लागू हुन्छ । अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा पुरानै व्यवस्था लागू हुन्छ ।’

सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ७ महिनादेखि ठप्प छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर/मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । तर, पास फेल हुनेमा भने अनिवार्य रुपमा पास हुनुपर्ने व्यवस्था रहेको महानिर्देशक घिमिरेले बताए ।

प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले ल्याएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था समेत निर्देशिकामा रहेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।

कोरोना संक्रमण बढ्दै गएपछि गत पुस २७ गतेबाट अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि आवेदन र ट्रायल परीक्षा बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here