निगरानी गर्दागर्दै कसरी चोरिन्छ मोटरसाइकल ?

चोरीको मोटरसाइकल सम्बिन्धत धनीलाई जिम्मा लगाउँदै

काठमाडौं, १९ साउन । ट्राफिक प्रहरी आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाइकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ ।

ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ ।

यसरी चोरी गर्नुपूर्व उक्त मोटरसाइकल र चालकको गतिविधी निगरानी गर्ने, मौकाको खोजि गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन ।

चोरीमा संलग्न सदस्यहरुको आ-आफ्नै भूमिका हुने गर्दछ । चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here