तनहुँमा औद्योगिक ग्राम बन्ने, स्थलगत सर्भेक्षणकाे काम अघि बढाइयाे

काठमाडाैं, ४ असार । तनहुँको भानु नगरपालिका–३ स्थित दोरदोरटारमा औद्योगिक ग्राम बन्ने भएको छ ।

औद्योगिक ग्रामको लागि स्थलगत सर्भेक्षणको सबै आवश्यक प्रकृया अगाडी बढाइएको छ ।

विज्ञ टोलीबाट स्थलगत अध्ययन गरेपछि टोलको भेलाबाट गरिएको निर्णय, चार किल्ला प्रमाणित र नगरपालिकाबाट प्रदेश सरकारलाई पठाएको आवश्यक कागजपत्र राखी औद्योगिक ग्रामको लागि प्रक्रिया अघि बढाइएको भानु ३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए ।

शुरुमा करीब ५०० क्षेत्रफल जग्गा राखी प्रक्रिया अघि बढाइएको भए पनि उक्त क्षेत्रफलले औद्योगिक ग्राम घोषणा गर्न नसकिने अवस्था आएपछि पुनः ६९ रोपनी १० आना क्षेत्रफल थप गरी पठाइएको छ ।

गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम घोषणा गर्न केन्द्रीय सरकारलाई सिफारिस गरी पठाएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको लागि प्रक्रिया अघि बढेको भानु–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए ।

औद्योगिक ग्राम घोषणाको लागि गर्नुपर्ने आवश्यक कामकाज गरिएको छ वडाध्यक्ष श्रेष्ठले भने, ‘वन तथा औद्योगिक वातावरण मन्त्रालयबाट घोषणा हुन मात्रै बाँकी रहेको छ ।’

बस्तीदेखि टाढा दूरीमा रहेको उक्त स्थानमा औद्योगिक ग्राम निर्माण गर्दा कुनै किसिमको प्रदूषण नहुने प्राविधिक अध्ययनले देखाएको छ ।

‘औद्योगिक क्षेत्र बनेपछि यहाँका सयाैँ मानिसलाई रोजगारको व्यवस्था मिल्ने छ । गाउँ घरमै रोजगारीको अवसर पाउने भएपछि स्थानीयवासी खुशी भएका छन्’ वडाध्यक्ष श्रेष्ठले बताए ।

भानुको दोरदोरटारमा औद्योगिक ग्राम बन्न सके भानु नगरपालिकाको मात्रै नभई सिङ्गो जिल्लाको विकासमा टेवा पुग्ने विश्वास लिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here