सरकारलाई सरकारी निकायबाटै असहयोग

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सरकारी निकायबाटै असहयोग भएको बताएका छन् ।

‘सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको छ । सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ,’ राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । ‘राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।’

कसैले गल्ती ग-यो भन्ने ठाउँ दिन नहुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई उनले निर्देशन दिएका छन् । सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु, उनले भने ।
प्रम ओलीका अनुसार कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।

संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने उनको भनाइ छ । ‘संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो, प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्ष भयो । नयाँ व्यवस्था अनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं । त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ,’ उनले भने ।

लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने उनको भनाइ छ । ‘हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ । निस्पक्षता,स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ,’ उनले भने ।
नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सृजना भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here