साताको शेयर बजार: नेप्सेमा नयाँ कीर्तिमान, ७९ अर्ब २६ करोडको कारोबार

काठमाडौं, २९ साउन । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ कीर्तिमान कायम छ ।

लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको संख्यामा वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ ।

सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । धितोपत्र बजारमा यो साता नेप्सेले ३१७८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ ।

नेप्से ३१७५ विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यसअघि बुधबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१६२ विन्दुको रेकर्ड बनाएको थियो । धितोपत्र बजारमा यस साता ७९ अर्ब बढीको कारोबार भएको छ ।

यो साता २३० वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट सात लाख १३ हजार सात सय ३० पटकको कारोबारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर किनबेच भएको छ ।

जसबाट कूल कारोबार रकम ७९ अर्ब २६ करोड ८ लाख ४० हजार ९ सय १६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा २२६ वटा कम्पनीहरुको शेयर कारोबार भएका थिए । जसबाट ६ लाख ९ हजार ६ सय १८ पटकको कारोवारमा १३ करोड १० लाख २४ हजार ९ सय ११ कित्ता शेयर किनबेच भएको थियो । कारोबार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९ सय ५५ रुपैयाँ पुगेको थियो ।

यो साता बढी कारोबार गर्ने कम्पनीहरुको सूचीमा अपर तामाकोशी, नेशनल हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदी परेका छन् ।

संख्याको आधारमा पनि यो साता नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी आदी परेका छन् ।

बजार पुँजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदी परेका छन् । सूचीकरणतर्फ भने यो साता सबैको लघुबित्त बित्तीय संस्था, नेपाल बैंक र कृषि बिकास बैंकको बोनस शेयर एवं ऋणपत्र सूचीकृत भएका छन् ।

यो साता नेप्से ३१७९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here