रसुवागढीको सुरूङबाट १७ कामदारको सकुशल उद्धार

६ असार, काठमाडौं । बिहीबार रातीदेखि सुरूङमा थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ । रसुवामा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा सुख्खा पहिरो गएपछि ६ चिनियाँ र ११ नेपाली गरी १७ कामदार सुरूङमा थुनिएका थिए ।

उनीहरु सबैको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । शुक्रबार बिहान करीव ७ बजे तीर कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ ।

१११ मेगावाट क्षमताको निर्माणाधिन जलविद्युत आयोजनाको सुरूङमा कामदार फसेका थिए । गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक यो आयोजना बनिरहेको छ । आयोजना स्थल नजिकै सुख्खा पहिरो गएपछि सुरूङ काम गरिरहेका मजदुर थुनिएका हुन् ।

उनीहरु सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएको जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको थियो । थुनिएका कामदारको उद्धारको काम बिहीबार रातीबाटै शुरु भएको थियो ।

उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी खटिएका थिए । कामदारसँग वाटीकटीका माध्यमबाट कुराकानी गर्दै टोलीले उद्धार गरेको थियो ।

सुख्खा पहिरो आउन थालेपछि सुरक्षाका कारण आयोजनाको काम तत्कालका लागि बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here