काठमाडौं, ३२ साउन । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार बैंकको चौथो त्रैमासमा खुद नाफा ३०.०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ।
चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ४ पैसा छ । बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।