सवारी चालक लाइसेन्स परीक्षा अझै अन्योलमा, विभाग भन्छ- ‘अनुमति पाए खोल्छौं’

काठमाडौं, ४ भदौं । कोरोना संकम्रण दर बढ्दै गएपछि चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा खुल्ने समयमा अन्यौलता बढेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिडको संक्रमण दर बढ्दै गएको कारण यसअघी भदौ पहिलो साताबाट सुरु गर्ने भनिएको सवारी लाइसेन्सको ट्रायल परीक्षा अन्यौलमा परेको हो ।

यसले गर्दा आवेदन दिएका मात्रै हैन, आवेदन दिन प्रतिक्षा गरिरहेका सेवाग्राही मर्कामा परेका छन् ।

‘हामी भदौ पहिलो साताबाटै सवारी लाइसेन्सको ट्रायल परीक्षा खोल्ने तयारीमा थियौ । तर पछिल्लो समय संक्रमण दर बढ्दै गएको र जसको कारण स्मार्ट लकडाउन सुरु गर्ने तयारी भएको कारण सवारी लाइसेन्सको ट्रायल परीक्षा कहिलेबाट खुल्छ भन्न सकिने अवस्था छैन् ।’ महानिर्देशक घिमिरेले क्लाउड पत्रिकासंग भने, ‘तर, हामी स्वास्थ्य मापदण्ड बनाईरहेका छौं ।

यो स्वास्थ्य मापदण्ड अनुसार सवारी लाइसेन्सको परीक्षा परिक्षा गराउनको लागि अनुमति पायो भने हामी सवारी लाइसेन्सको ट्रायल परीक्षा केही समयमै खोल्छौं ।’ सवारी लाइसेन्सका लागि लिखित परीक्षा र ट्रायल परीक्षा करिब ८ महिनादेखि ठप्प छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै प्रदेशहरुले आफ्नो यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गरेका छैनन् ।

अब खुल्ने ट्रायल तथा लिखित परीक्षामा नयाँ व्यवस्था अनुसार लागू हुने विभागले बताएको छ । लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था सार्वजनिक गरिसकेको छ ।

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ (वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर/मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप, डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो ।

निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । तर, पास फेल हुनेमा भने अनिवार्य रुपमा पास हुनुपर्ने व्यवस्था रहेको महानिर्देशक घिमिरेले बताए ।

प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैंले ल्याएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था समेत निर्देशिकामा रहेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।

अगाडि नै लिखित परीक्षा दिएर बसेकाहरूको हकमा भने पुरानै व्यवस्था लागू हुने विभागले बताएको छ । कोरोना संक्रमण बढ्दै गएपछि गत पुस २७ गतेबाट अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि बन्द गरिएको लाइसेन्सको आवेदन र ट्रायल परीक्षा अहिलेसम्म खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here