काठमाडौं, ६ भदौं । काठमाडौँ महानगरपालिकाले ‘एक शिक्षक, एक ल्यापटप’ अभियान थालेको छ । ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत शनिबारविद्यालयका २७ जना शिक्षकलाई ल्यापटप दिइएको हो ।
महानगरले वडा नं. २५ को कन्या मन्दिर माविका २७ जना र वडा नं. ६ को जनकल्याण माविका ३१ जना शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ ।
महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए ।
‘शिक्षण सिकाइका लागि शिक्षकलाई निःशर्त सामग्री तथा उपकरण दिइनुपर्ने र मोबाइल वा ल्यापटप किन्न नसक्ने विद्यार्थीका बारेमा पनि सोच्नुपर्ने हुन्छ,’ उनले भने ।
शिक्षकलाई प्राविधिक ज्ञानका लागि महानगरपालिकाले तालिमको समेत प्रबन्ध गर्ने र अन्य विद्यालयहरूमा समेत क्रमशः ल्यापटप वितरण गरिने शिक्षा अधिकृत मोतीराज खनालले बताए ।
महानगरलाई यस्तो अभियान सञ्चालनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको समेत सहयोग रहेको उनले बताए । कन्या मन्दिर स्कुलले भने यसअघि इजी एप्लिकेसनसमेत प्रयोगमा ल्याइसकेको छ ।
यस अघि वडा ६ को जनकल्याण माद्यमिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप दिइसकेको छ ।