काठमाडौं, ९ भदौ । तेह्रथुम पावर कम्पनीले आज बुधबार (भदौ ९ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल सेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।
हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। कम्पनीले सर्वसाधरणलाई ७ लाख ४४ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ७४ हजार ४०० जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २४ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।