महासंघ र यूएनबीच एसडीजी कार्यान्वयनमा सहकार्य हुने

काठमाडौं, १० भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच बुधबार महासंघको सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडीजी गोल्स) लाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य गर्ने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणका लागि संयुक्त रुपमा प्रयास गर्ने लगायतका विषयमा छलफल भएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघले अघि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो । नेट २०३० ले नेपालले अबको ५ वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नती हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनिकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष्ँ गोल्छाले स्पष्ट पारे ।

यसका कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसंग पनि सहकार्य आवश्यक रहेको उहाले बताए । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए ।

सो अवसरमा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक साराले चुुनौतीलाई बहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गरिन् । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।

एसडीजीका लक्ष्यहरु निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उनले आग्रह गरिन् । नेपालको स्तरोन्नती र एसडीजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनुसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण हुने बताइन् ।

उक्त अवसरमा संयुक्त राष्ट्र संघ र महासंघबीच हुनसक्ने सहकार्यका विविध क्षेत्रका विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघ सचिवालय र संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here