मनमोहन ‘प्राविधिक विश्वविद्यालय’ स्थापना गरिने

बिराटनगर, ७ असार । प्रदेश नं १ सरकारले मनमोहन स्मृति पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय’ बनाउन रु १६ करोड ५० लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा मोरङ जिल्लालाई आर्थिक समृद्धि र रोजगार वृद्धिलगायतका कार्यमा विशेष जोड दिएको छ । जसअनुसार मोरङको बूढीगङ्गा–४ स्थित उक्त पोलिटेक्निकलाई ‘प्रादेशिक प्राविधिक विश्वविद्यालय‘ स्थापना गर्न लागेको होे ।

प्रदेशमा रहेका उद्योग, कृषि, सडक, स्वास्थ्य उपकरण, सूचना प्रविधिलगायतका क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवायुवतीलाई रोजगार उपलब्ध गराउन ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ स्थापनाका लागि उक्त बजेट व्यवस्था गरिएको हो ।

प्राविधिक तथा सीपमूलक शिक्षाको अभावमा यस क्षेत्रका विद्यार्थी अन्यत्र भौतारिनुपर्ने, भारत तथा तेस्रो देश जानुपर्ने बाध्यतालाई यो प्राविधिक विश्वविद्यालयले अन्त्य गर्ने विश्वास लिइएको छ । हाल उक्त पोलिटेक्निकले विभिन्न विधामा आवासीयसहित स्नातकको पठनपाठन कार्य गर्दै आएको छ । सो विश्वविद्यालय अन्र्तगत रहने गरी उच्च पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, पाँचथर तेह्रथुम, सङ्खुवासभा र सोलुखुम्बुमा आङ्गिक क्याम्पस सञ्चालन गर्न बजेटको समेत व्यवस्था गरिने भएको छ ।

मोरङको उर्लाबारीमा रहेको ‘मदन भण्डारी प्राद्यौगिक महाविद्यालय’ को सेवा विस्तार गर्न एक करोड बजेटको व्यवस्था गरिएको छ । बजेटमा प्राविधिक शिक्षा, व्यावसायिक तालीम चलाईरहेको मोरङको शिशबनी जहदामा सञ्चालित ‘शैजला आचार्य प्राविधिक’ शिक्षालयलाई अनुदान उपलब्ध गराइएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here