एक वर्षमा ७१ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

काठमाडौं, ११ भदौ । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत १ खर्ब ६१ अर्ब ४३ करोड ६६ लाख रुपैयाँ लगानी गरेका छन् ।

यो संख्या अघिल्लो वर्ष(२०७६) को असार मसान्त सम्ममा १८ हजार २ सय ९५ रहेको थियो । २०७७ असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ जनाले सहुलियत कर्जा लिएका थिए ।

गत आर्थिक वर्ष (२०७७/७८) वर्षको १२ महिनाको अवधिमा मात्रै थप ७१ हजार ६६१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुले अनिवार्य सहुलियतपूर्ण कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकले संख्या नै तोकेर अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि पहिलाकोभन्दा सहजै ऋण पाउने अवस्था सृजना हुँदा यस्तो ऋण लिनेको संख्या ह्वात्तै बढेको हो ।

सहजै सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जना र विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

कुन शीर्षकमा कतिले लिए ?

सहुलियत कर्जाको पहिलो नम्बरमा महिला उद्यमशील कर्जा लिने रहेका छन् । असार मसान्तसम्ममा ५५ हजार ५५१ जनाले महिला उद्यमशील कर्जा लिएका छन् ।

दोस्रोमा कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ५७ ऋणी प्रवाह भएको छ। दलित समुदाय व्यवसाय विकासको लागि ९६५ जनाले सहुलियत कर्जा लिएका छन् ।

उच्च र प्राविधिक व्यावसायिक कर्जा १११ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २३१ जनाले लिएका छन् ।

कपडा उद्योग सञ्चालनका २२१० जनाले सहुलियत ऋण लिएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ८३९ जनाले मात्रै उपयोग गरेका छन् ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here