कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, ३५ ढोका खोलिए

काठमाडौं, १३ भदौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यसवर्षकै उच्च विन्दुमा पुगेको हो।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ।

नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो। पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ। नदीमा आएको उतार चढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here