१७ जनाको दरबन्दी रहेको मालपोत कार्यलयमा ८ कर्मचारी, दुई महीनादेखि रजिस्ट्रेशन ठप्प

काठमाडौं, ८ असार । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन ।

घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ ।

१७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन् । घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन् ।

नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाएका छैनन् । यसअघिका कार्यालय प्रमुखका रुपमा आएका राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आएका छैनन्। नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहेका छन् ।

मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहेका छन् ।

कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताए । उनले भने, ‘विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुस्भन्दा पनि सुनुवाइ भएन । मान्छेहरु आउँछन् । किन यो काम हुँदैन । गर्नै पर्छ भन्छन्, दबाब दिन्छन् । तर मलाई निमित्तकोसमेत जिम्मेवारी छैन तथापि हामीले जसोतसो गरिरहेका छौँ तर रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ ।’
(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here