३४ प्रतिशत बढ्यो चामलको माग, यी हुन् एक वर्षमा धेरै आयात भएका १० वस्तु

काठमाडौं, १५ भदौ । गत आर्थिक वर्षमा नेपालमा १५ खर्ब रुपैयाँको सामान आयात भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको आयात निर्यातको तथ्यांक अनुसार गएको वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ ।

बैंकको तथ्यांक अनुसार गत आवमा पेट्रोलियम पदार्थ आयातका लागि नेपालले सबैभन्दा धेरै रकम खर्चिएको छ । गत आर्थिक वर्षमा १ खर्ब ७५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने बस्तुहरुमध्ये पेट्रोलियम पदार्थको मात्रै हिस्सा ११.४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.२ प्रतिशत बढी रकमको पेट्रोलियम पदार्थ आयात भएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि आयात बढी देखिने गर्दछ ।

धेरै आयात हुने बस्तुको सूचीमा दोस्रो स्थानमा सवारीसाधन, तिनका पार्टपूर्जा तथा टायर पर्दछ । यो शिर्षकमा गत आर्थिक वर्ष १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सवारीसाधन तथा पार्टपूर्जाको आयात ४७ प्रतिशतले बढेको तथ्यांक देखिन्छ । कुल आयात हुने बस्तुमा यो शिर्षकमा खर्च हुने रकम ८ प्रतिशत हो ।

अन्य मेसिनरी तथा पार्टपूर्जा आयातका हिसावले तेस्रो स्थानमा परेको छ । गत आर्थिक वर्षमा कुल ८० अर्ब ७१ करोड रुपैयाँको मेसिनरी तथा पार्टपूर्जा आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यसको आयात २० प्रतिशतले बढी हो ।

त्यस्तै, डण्डी उत्पादनका लागि उद्योगहरुले प्रयोग गर्ने एमएस बिलेट उच्च आयातका आधारमा चौथो स्थानमा पर्छ । गत आर्थिक वर्ष ७१ अर्ब ५२ करोड रुपैयाँको एमएस बिलेट आयात भएको छ । यो आयात अघिल्लो वर्षको तुलनामा ६९ प्रतिशत बढी हो ।

उच्च आयात हुने पाँचौ बस्तु हो कच्चा सोयाबिन तेल । गत आर्थिक वर्ष यसको आयातमा ५३ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ । यसको आयात अघिल्लो वर्षको तुलनामा १८४ प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै आयात हुने वस्तुको छैंटौं स्थानमा चामल रहेको छ । तथ्यांक अनुसार गत आवमा मात्रै ५० अर्ब ७८ करोड रुपैयाँको चामल याता भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ मा ३३ अर्ब ३५ करोडको चामल भित्रिएको थियो भने आर्थिक वर्ष २०७५/ ७६ मा ३२ अर्ब २१ करोड रुपैयाँको चामल आएको थियो ।

धेरै आयात हुने सातौं नम्वरमा औषधि परेको छ। गत आर्थिक वर्ष ३९ अर्ब ५७ करोड रुपैयाँको औषधि भित्रिएको छ। जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो।

उच्च आयातका आधारमा आठौं स्थानमा टेलिकम्युनिकेसन इक्वीपमेन्ट, पार्टस् पर्दछ । गत आर्थिक वर्ष ३४ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ प्रतिशतले बढी हो ।

नवौं स्थानमा रहेको रेडिमेड गार्मेन्ट्स गत आर्थिक वर्षमा २८ अर्ब १० करोडको आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

उच्च आयात हुने बस्तुमा सुन दशौं स्थानमा छ । गत आर्थिक वर्ष २७ अर्ब ४८ करोड रुपैयाँको सुन आयात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here