‘देश विकासका लागि १० वर्ष युवा पुस्ताले समय निकाल्ने हो भने कोल्टो फेर्छ’

फाइलफोटो

काठमाडौं, १६ भदौं । अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन भवनको शिलान्यास गर्दै अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका हुन्।

उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे।

अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए।

उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौँ भने यो एउटा अवसर हो।‘

अबको १० वर्ष, यो एक दशक, नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी रहेको भन्दै उनले हामीले धेरै समस्या, चुनौतिहरुलाई पन्छाउँदै विकास, प्रगतितिर अगाडि बढ्नुपर्ने पनि सुझाव दिए।

‘हामीसँग पर्याप्त मात्रामा साधन, श्रोतहरु छन्, प्रकृतिले हामीलाई दिएको छ, अत्यन्त सुन्दर राष्ट्र छ, र हाम्रो शैक्षिक र सक्षम जनशक्ति र यो श्रोतको एकताबाट मात्रै राष्ट्र निर्माण प्रतिको एउटा प्रतिवद्धताबाट मात्रै यो कुरालाई अगाडि बढाउन सम्भव छ, थुप्रै राजनीतिक परिवर्तनहरु भए, थुप्रै आदोलन, युद्ध संघर्ष हामीले गर्यौं, जनयुद्ध, जनआन्दोलन तमाम कुराहरु भए, त्यो केवल राजनैतिक परिवर्तन र राष्ट्र निर्माण र समृद्धिका लागि थिए ’ उनले भने।

अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनीतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here