राष्ट्रिय कुक प्रतियोगितामा पहिलाे भइन् प्रदेश ३ की सुनसरी नेपाली

काठमाडौं, ८ असार । पोखरामा शुक्रबार सम्पन्न पाक—कलामा आधारित राष्ट्रिय सीप प्रतियोगितामा प्रदेश नम्बर ३ की सुनसरी नेपाली प्रथम भएकी छन् ।

विजेता नेपालीले नगद रु १ लाख रुपैयाँ प्राप्त गरिन् ।

सीटीइभीटी, राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार, विकास सहयोग (एसडीसी) को सहयोगमा प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ सञ्चालन गरेकाे हाे ।

औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियाेगितामा सातै प्रदेशका १ सय ६३ जना प्रतियोगीहरुबाट विभिन्न चरणमा छनौट भइ फाइनल चरणमा १४ जना पुगेका थिए ।

देशका सात वटै प्रदेशबाट पहिलो चरणको प्रतियोगिताबाट छानिएका १४ जना प्रतिस्पर्धीबीच शुक्रबार साँझ पोखरा ग्राण्डमा फाइनल प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा प्रदेश नं ३ सुनसरी नेपाली प्रथम भइन भने प्रदेश नम्बर ३ कै रमेश थापाले दोस्रो स्थान हासिल गरे । थापाले नगद ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ का ओमप्रसाद ढकालले तेस्रोे हुदै ५० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) ले यो प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरेको थियो ।

प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्र्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भइरहेको वेलामा प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

प्रतियोगिताको निर्णायकमा सेफ गोविन्दनरसिंह केसी, एल.बी.कौशल, राजकुमार लामा रहेका थिए भने सेफ एशोसियसनका अध्यक्ष श्रीराम अधिकारीले अनुगमन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here