काठमाडौं, १६ भदौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। ‘निषेध’ शब्दलाई हटाएपनि निषेधाज्ञामा मान्दै आएको केही नियम भने भदौ मसान्तसम्म यथावत नै रहेको छ ।
थपिएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/ गराउन नपाउने जनाइएको छ।
यस्तै, चोक र खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नर गराउन नपाउने पनि जनाइएको छ।
त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म र सार्वजनिक तथा निजी निर्माण कार्यको लागि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने छ ।
भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ।
स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय तहको समन्वयमा जिल्लास्थित कोभिड व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ।
























