धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न समिति गठन

काठमाडौं, १६ भदौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई पदबाट निलम्बन गरि छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ढुंगानाले भने ‘छोरीले सर्वोत्तम सिमेन्टको सेयर किने पनि त्यो नियमसंगत नै भएको’ दावी गरेका थिए।

ढुंगानाले भित्री कारोबार गरेको भन्दै यो विषयमा प्रमाणसहित समाचार छापिएको र सोसम्बन्धी अर्थ मन्त्रालयले छानबिन गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले तीन दिने स्पष्टीकरण पनि सोधेको थियो।

उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानुनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here