नेपालको पर्यटन प्रवद्र्धन र लगानी आकर्षणमा श्रीलंकाले सघाउने

काठमाडौं, भदौ १९ । श्रीलंकाले नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि एवं निर्यात वृद्धिका लागि सहयोग गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँग शुक्रबार भएको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपाल र श्रीलंकाबीच लामो सांस्कृति सम्बन्ध रहेको भन्दै त्यसलाई अव औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताइन् ।

परिसंघ कार्यालय थापाथलीमा भएको छलफलमा राजदूत अरुणतिलकाले नेपाली निर्यातकर्तालाई श्रीलंकामा सहज पह्ँच र बजारका लागि आफूले पहल गर्ने बताइन् ।
‘हामीले आर्थिक सम्बन्धलाई बलियो बनाउनुपर्नेछ,’ उनले भनिन् ।

दुई देशबीच सिधा हवाई सेवा सुरु भएकोमा प्रशन्नता व्यक्त गर्दै यसले आपसी सञ्जाल विस्तारमा थप सहयोग गर्ने उनले उल्लेख गरिन् । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक आपसमा लगानी अभिवृद्धि र आर्थिक सम्बन्ध विस्तारमा जोड्न सक्छौँ,’ अरुणतिलकाले भनिन् ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालले औद्योगिक विकासका लागि आन्तरिक र बाह्य लगानीकर्ताबाट ठूलो लगानीको अपेक्षा गरेको बताउँदै श्रीलंकाली लगानीकर्तालाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्नुपर्ने बताए ।

‘नेपाल सिमेन्ट, जुत्ता चप्पल जस्ता क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने अवस्थामा छ, यसबाहेक धेरै क्षेत्रमा हाम्रो संभावना छन्, त्यस्ता क्षेत्रमा श्रीलंकाली लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ,’ उनले भने ।

छलफल कार्यक्रममा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले एसियाली देशहरूका निजी क्षेत्रका संस्थालाई जोड्ने उद्देश्यले परिसंघको अगुवाईमा युनियन अफ एसिएन चेम्बर्स गठन गरिएको र त्यसमार्फत एसियाली देशहरूका निजी क्षेत्रका संगठनबीच एकता कायम गरी लगानी अभिवृद्धि र व्यापार सहजीकरणमा सहकार्य गर्ने बताए ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं महानिर्देशक यादवप्रसाद पौड्याल र श्रीलंकाली राजदूतावासकी काउन्सेलर निलुशा दिल्मिनीको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here