१८ बुँदे मागसहित लगानीकर्ता आन्दोलित, गभर्नरलाई बर्खास्त गर्न माग

काठमाडौं २१ भदौ । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाको विरोध गर्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेराउ गर्दै राजीनामा माग गरेका हुन् । सोमबार काठमाडौंमा भेला भई शंकरदेव क्याम्पस अगाडिबाट वृहत र्याली निकालेर नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय, बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समितिले १८ बुँदे मागसहित विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनीहरुले उल्लेखित मागहरु सम्बोधन नभएमा भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि रिले अनशन बस्ने घोषणा गरेका छन्।

समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।

लगानीकर्ताहरुले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् । माग पुरा नभए आमरण अनसन बस्ने समितिले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । यो सँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here