फाष्ट ट्र्याकको लागत पूर्वअनुमान भन्दा ६३ अर्ब बढी

काठमाडौं, ९ असार । सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई एक्सप्रेस वेको लागतरु. १ खर्ब ७५ अर्ब १९ करोड लाग्ने भएको छ । गत वर्ष गरिएको पूर्वअनुमान भन्दा यो रकम रु. ६३ अर्ब भन्दा बढी हो ।

यसअघि राजधानीलाई तराइसँग जोड्ने सो फाष्ट ट्रयाकको लागत रु. १ खर्ब १२ अर्बको हाराहारी अनुमान गरिएको थियो ।

कोरियाली कम्पनी सूसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टेन्सीले दुई महिनाअघि बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)ले एक्सप्रेस वेको लागत रु. १ खर्ब ५५ अर्ब ३ करोड हुने र त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर रु. २० अर्ब १५ करोड जोड्दा १ खर्ब ७५ अर्ब भन्दा बढी पुग्ने उल्लेख गरेको छ ।

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा सोमवार भएको छलफलमा बोल्दै नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठका अनुसार सो सडकको लम्बाइ ७५.५ किमि निर्धारण गरिएको छ ।

नयाँ डीपीआरअनुसार एक्सप्रेस वेको बुदुनेमा इन्टरसेक्सन निर्माण गरिने छ भने सुरुङको लम्बाइ बढाएर ६.४ किमि बनाइएको छ ।
यसअघि एशियाली विकास बैंकले १.३७ किमि लम्बाइको ३ ओटा सुरुङ मार्ग प्रस्ताव गरेको थियो । नयाँ डीपीआरका अनुसार महादेव डाँडा, धेद्रेडाँडा र लेनडाँडामा तीन ओटा अलग अलग सुरुङ निर्माण गरिनेछन् ।

त्यसैगरी पुल निर्माणको काम पनि अगाडि बढाइएको छ । डीपीआर स्वीकृत भएपछि सुरुङ निर्माण गर्न उपयुक्त हुने भएकाले प्रारम्भिक कार्य भएको सेनाले जानकारी दिएको छ ।

प्रगति सुस्तायो

काठमाडौं–तराई एक्सप्रेस वेको प्रगति यो वर्ष सुस्ताएको छ ।
चालु आर्थिक वर्षमा सेनाले विनियोजित बजेट रु. ५ खर्ब ९७ अर्ब मध्ये रु. ३ खर्ब ९७ अर्ब रुपैयाँ अर्थात ६५.५ प्रतिशत खर्च गरेको छ । यो राष्ट्रिय गौरबको आयोजनाले गत वर्ष शत प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । चालु आव सकिन २२ दिन मात्र बाँकी छ ।

श्रेष्ठका अनुसार सडकको डिजाइन समीक्षा तथा निर्माण कार्यको सुपरभिजनका लागि सेनाले विदेशी परामर्शदाता छनोटको काम गरिरहेको छ । त्यसका लागि छ ओटा कम्पनीहरु सूचीकृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here