नेपालमा विदेशी लगानी १ खर्ब ९८ अर्ब, बैंक तथा वित्तीय संस्थामा २७ प्रतिशत

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले विहिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वैदेशिक लगानी १ खर्ब ९८ अर्ब ५२ करोड कायम रहेको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।

सार्वजनिक गरेको प्रतिवेदनमा भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैया, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैया, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैया र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैया प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

जसमा प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सकेर प्रतिवेदन सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६-७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ तयार पारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here