फोरजी प्रयोगकर्ता एक करोड नजिक, एक महिनामै बढे २३ लाख

काठमाडौं, २७ भदौ । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नजिक पुगेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ९९ लाख ५४ हजार १ सय १९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३ सय ४५ जना रहेका छन् ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने १ करोड ४ लाख ३१ हजार ७ सय ३९ जना रहेका छन् ।

एनसेलको मात्रै ५० लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार कुल फोरजी प्रयोगकर्तामध्ये एनसेलको मात्रै फोरजी प्रयोग गर्ने मानिसको संख्या ५० लाखभन्दा धेरै छ ।

पछिल्लो तथ्यांक अनुसार अहिले एनसेलको फोरजी प्रयोगकर्ता ५० लाख ४२ हजार ९ सय ९८ जना रहेका छन् ।

एनसेलको २४ लाख ६२ हजार ५९६ जनाले थ्री जी सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने १ लाख ६६ हजार ७ सय ४६ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

एक महिनामै बढे झण्डै २३ लाख

गएको एक महिनामै झण्डै २३ लाख फोरजी प्रयोगकर्ता बढेका छन् । प्राधिकरणको तथ्यांक अनुसार गएको एक महिनामा २२ लाख ८९ हजार जना फोरजी प्रयोगकर्ता बढेका छन् ।

विभागको तथ्यांक अनुसार गत जेठ महिनासम्म फोरजी प्रयोगकर्ता ७६ लाख ६४ हजार ३५९ रहेका थिए ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here