एमालेको अवरोध कायमै, ओलीको निर्देशन-‘सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू’

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले अवरोध गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरूले वेल घेराउ गरेर अवरोध गरेका हुन् ।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी छन् । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए ।

तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका छन् । एमालेको अवरोध पछि बैठक १५ मिनेट सम्मलाई स्थगित गरिएको छ ।

एमालेले एमाले विभाजन गरेर नयाँ दल गठन गरेका मावधकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद् बैठक चल्न नदिने बताएको छ । एमालेले उनीहरूलाई कारबाही गरेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन पनि एमालेका सांसदहरूलाई आग्रह गरे ।

‘बैठक सहज ढंगले अघि बढाउन आग्रह गर्दछु । सत्तापक्ष, प्रतिपक्ष सबैलाई विनम्रताका साथ अनुरोध गर्दछु,’ उनले भने, ‘हामीले विचारहरू राखेर बैठकलाई सहज ढंगबाट अघि बढाउनु पर्छ ।’

त्यस्तै आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गरेको जनाएका थिए । ओलीले संसदमा मर्यादित बन्न पनि निर्देशन समेत दिएका थिए ।

नारा लगाउने र बेलमा जाने भन्दा बाहिरको मर्यादामा जान हुन्न । कतिपय साथीहरूले सभामुखलाई माइक हान्ने योजना थियो भन्नुभएछ, त्यस्तो गर्नुहुँदैन, नभएको कुरा मिडियामा बोल्न पनि हुँदैन । सबैले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । काँध चढेर माथि जाने र माइक हान्ने व्यवहार देखाउनै हुन्न ।’

हामीले तोकिएका मात्रै नारा लगाउनेछौँ, तोकिएका व्यवहार मात्रै गर्छौँ, बेलबाट मात्रै नारा लगाउँछौँ, नारा चर्को र सामान्य भन्ने कुरा अवस्थाले निर्धारण गर्छ उनले आफ्ना सांसदलाई भनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here