एकीकृत समाजवादी रोजेका दुई सांसदलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, २७ भदौ । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) मा जान लागेका सांसद सोमप्रसाद पाण्डेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यसबेलासम्म उनीहरुमाथि कारबाही नगर्न र नगराउन आदेश दिएको हो ।

एमाले सांसदहरु प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट आफूहरुलाई नेकपा एसमा सनाखत गर्न नदिइएको भन्दै अदालत गएका थिए ।

‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएकोले मिति २०७८/५/२९ गते अन्तरिम आदेशको छलफलको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरुलाई सूचना दिनू,’ अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ, ‘र, सो मितिसम्म निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम–कारबाही नगर्ने भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here