संसद्को अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

‘सभामुखज्यूले भोलि ( २८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखको प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।

आजको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन आग्रह गरेका थिए ।

सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए । तर, एमालेले कारवाही गरेका सांसदहरुलाई बैठकमा सहभागी गराउन नहुने भन्दै बिरोधलाई निरन्तरता दिएको थियो ।

यसअघि आइतबार नै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गरेका थिए ।

छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here