नयाँ नोट असोज ४ गतेदेखि, प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न सकिने

काठमाडौं, २८ भदौ । दशै र तिहारलाई लक्षित गरी राष्ट्र बैंकले असोज ४ गते देखि सर्वसाधारणलाई नयाँ नोट साटिदिने भएको छ ।

काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले क्लाउड पत्रिकालाई बताए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँनेछन् ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको पछि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंकहरुले आफ्ना खास ग्राहकहरुलाई नयाँ नोट वितरण गर्न शुरु गरिसकेका छन् ।

अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न, महामारीलाई ध्यानमा राख्दै भीडभाड नगर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here