इण्टरनेट विना भुक्तानीको रकम तिर्न मिल्ने टेलिकमको ‘नमस्ते पे’

काठमाडौं, ३० भदौ । इण्टरनेट विना विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने नेपाल टेलिकमको मोबाइल वालेट ‘नमस्ते पे’ औपचारिक रूपमा सुरु भएको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा इन्टरनेटबिनै पैसा तिर्न मिल्नेगरी बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ औपचारिक रूपमा सुरु भएको हो ।

मंगलबार प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन गरी औपचारिक सेवा शुभारम्भ गरेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् ।

छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी स्थापना गरी नमस्ते पेको सेवा सञ्चालनमा ल्याइएको हो । ४० करोड रुपैयाँ चुक्ता पुँजीको यो कम्पनीमा टेलिकमको ६० र राष्ट्रिय वाणिज्य बैङ्कको ४० प्रतिशत हिस्सा हुने उल्लेख छ ।

इण्टरनेटविनै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट पहिलो रहेको कम्पनीको दाबी छ ।

हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिए जस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ । कम्पनीले जनाए अनुसार तत्कालका लागि राष्ट्रिय वाणिज्य बैङ्कमा खाता हुनेहरूले यो सेवा प्रयोग गर्नसक्ने छन् ।

क्रमशः अन्य बैङ्कमार्फत पनि सेवा सुरु गरिने भएको छ । ‘नमस्ते पे’ बाट भएका भुक्तानीको सेटलमेन्ट भने राष्ट्रिय वाणिज्य बैङ्कबाट हुने भएको छ ।

कम्पनीले प्रदान गर्ने कोडका आधारमा बिजुली, खानेपानी, इन्टरनेट, रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैङ्कबाट अर्को बैङ्कमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियमलगायतका भुक्तानी यसमार्फत गर्न सकिनेछ ।

टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडबाट नमस्ते पे नामक डिजिटल भुक्तानीको सेवा दिने भन्दै ३ चैत ०७७ मा राष्ट्र बैङ्कबाट सञ्चालन अनुमति पाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here