अर्थमन्त्रीको सुझाव-‘सञ्चय कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस्’

काठमाडौं, ३० भदौ । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै शर्माले लगानीले रोजगारी सिर्जना गर्ने बताएका हुन्।

‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ,’ उनले भने। उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्ने बताए।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ। निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ। कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुति खर्च उपलब्ध गराउँछ।

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु. २ लाख प्रदान गर्दछ। सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु. ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ।

यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ।

वि.सं. २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कार्वाही संचालन गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here