हिरक महोत्सवको अवसरमा जनता माविलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं, १० असार । कृषि विकास बैंक लिमिटेडले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक विद्यालयलाई झण्डै १० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

विद्यालयको हिरक जयन्ती तथा अभिभावक दिवस २०७६ को अवसरमा बैंकले सहयोग उपलब्ध गराएको हो । कार्यक्रमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयको विभिन्न कक्षा कोठाहरुलाई शैक्षिक वातावरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्रि कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पंखा लगायतका बिद्युतिय सामाग्रीहरुका लागि रु. ९,७५,००० बरावरको आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।

शैक्षिक विकासमा महत्वपुर्ण सहयोग पुर्याए बापत बैंकलाई राष्ट्रपति हातबाट सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरे ।

उक्त कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र अतिथीको रुपमा प्रदेश नं. २ का मुख्य मन्त्री मोहम्मद लालबाबु राउत, राजपा सांसद चन्द्रकान्त चौधरीले समेत विद्यालयलाई शुभकामना दिँदै कृषि विकास बैंकले उपलव्ध गराएको सहयोगको सराहना गरेका थिए ।

सम्मान कार्यक्रमको समापन पछि कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको क्षेत्रीय कार्यालय राजबिराज तथा अन्तर्गतको शाखा कार्यालय बोदेबर्साईनबाट आयमूलक कार्यक्रमका लागि नेपाल सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत संचालन भएको बिना धितोको अनुदान मूलक कर्जा कार्यक्रमा सम्बद्ध विभिन्न महिला समूहहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here