दशैं तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, प्रतिकेजी दुईदेखि १० रूपैयाँसम्म छुट

फाइलफोटो

काठमाडौं, १ असोज । सरकारले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।

सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिइने छ । खाद्य व्यापार कम्पनीले देशका विभिन्न ३९ जिल्लाको ४३ वटा स्थानबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले फापर, सिमी भटमासको तेल, चामल र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।

यसैगरी, पिठो, चिउरा, तोरीको तेल, सनफ्वरको तेल, दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा प्रतिकिलो २० रुपैयाँ छुट दिएको छ । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पाेरेसनले ३२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गरेको छ । साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट नुन प्रतिकिलो १८ रुपैयाँमा र चिनी प्रतिकिलो ७९ रुपैयाँमा पाइनेछ ।

साल्ट ट्रेडिङका अनुसार चिनी प्रतिव्यक्ति २ किलो र नुन ६ किलोसम्म किन्न पाइनेछ । प्रतिकिलो १ हजार रुपैयाँ पर्ने घिउलाई ५० रुपैयाँ छुट गरी ९ सय ५० मा बिक्री गरिनेछ ।

डिब्बामा भएको घिउ अहिले १ हजार २० रुपैयाँमा बिक्री गरिँदै आएको छ । अब भने ५० रुपैयाँ छुट दिएर ९ सय ७० मा बिक्री गरिनेछ ।

कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ।

यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ। कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्ग्राको बिक्री वितरण रोकेको थियो। सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here