बल्ल अनलाइनमार्फत सेवा दिन थाल्याे त्रिवि परीक्षा नियन्त्रण कार्यालयले

काठमाडाैं, १० असार । त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सूचना प्रविधिमैत्री प्रणालीमार्फत सबै काम गर्न थालेको छ ।

पनिकाले यस वर्षदेखि परीक्षासम्बन्धी फाराम भर्ने, लब्धाङ्कपत्र नतिजा, सिम्बोल नम्बर र परीक्षा केन्द्रजस्ता सबै काम अनलाइनमार्फत गर्न थालेको पनिकाका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

पनिकाले www.tuexam.edu.np वेबसाइटमार्फत सबै काम गर्न थालेको छ । यस वर्षदेखि पनिकाको वेबसाइटबाट नै सिम्बोल नम्बर र परीक्षा केन्द्र हेर्न सकिनेछ । परीक्षार्थीले आफ्नो त्रिवि रजिष्ट्रेशन नम्बर वेबसाइट रहेको सफ्टवेयरमा राखेपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र थाहा पाउने उनले जानकारी दिए ।

पनिकाले पहिलो पटक वेबसाइटमार्फत यही बुधबारदेखि हुने प्राइभेटतर्फको स्नातकोत्तर तहको राजनीतिकशास्त्र र जनप्रशासन तथा स्नातक तहको परीक्षाका लागि पनिकाले वेबसाइटमार्फत सिम्बोल नम्बर र परीक्षाकेन्द्र हेर्ने व्यवस्था गरेको हो । ‘यस वर्षदेखि हामी पनिकालाई सूचनामैत्री बनाउन थालेका छौँ’, उनले भने, ‘विद्यार्थीको सहजता र प्रविधिअनुसार पनिकालाई लैजान सबै कार्य अनलाइनमार्फत गर्न थालेका हाैं ।’

उनका अनुसार पनिकाले यसै वर्षदेखि सबै सङ्काय र तहको परीक्षा नतिजा र पाँच क्याम्पसको प्रथम वर्षको परीक्षा फारामसमेत अनलाइनमार्फत भर्न थालेको छ । पनिकाले पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँ, पृथ्वीनारायण वहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, कैलाली बहुमुखी क्याम्पस धनगढी र महेन्द्र वहुमुखी क्याम्पस इलाममा पहिलो पटक अनलाइनमार्फत फाराम भर्न थालिएको उनले जानकारी दिए ।

यस्तै पनिकाले लब्धाङ्कपत्र पनि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ । सह–नियन्त्रक अधिकारीले सम्बन्धित क्याम्पसलाई वेबसाइटको पासपोर्ट उपलब्ध गराएर क्याम्पसले आफै नै प्रिन्ट गर्न सक्ने गरी विद्यार्थीलाई लब्धाङ्क पत्र उपलब्ध गराउन थालिएको जानकारी गराए । उनका अनुसार आगामी प्रथम वर्षको नतिजाको लब्धाङ्कपत्र क्याम्पसलाई नै उपलब्ध गराउने गरी काम भइरहेको छ ।

यसैगरी पनिकामा प्रवेश पत्र लिनेको भीड छ । बुधबारदेखि स्नातकोत्तर तह र स्नातक तहको प्राइभेटतर्फको प्रथम वर्षको परीक्षाका लागि विद्यार्थीको प्रवेशपत्र लिन भीड छ । यस वर्ष प्राइभेटतर्फ अन्तिम परीक्षा भनेर धेरै विद्यार्थीले फाराम भरेपछि प्रवेश परीक्षा लिनेको भीड भएको हो ।

यसवर्ष करीब २० हजार विद्यार्थीले फाराम भरेका थिए । त्रिविले सूचना प्रकाशन गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भरेका थिए । पनिकाले विभिन्न ठाउँमा सिम्बोल नम्बरको आधारमा प्रवेश पत्र दिएको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here