निजी क्षेत्रमा प्रवाहित कर्जा २९ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा

काठमाडौं, ९ असोज । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २९.४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २९.४ प्रतिशतले बढेको हो ।

२०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.७ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २.१ प्रतिशतले र हायर पर्चेज कर्जा १.८ प्रतिशतले बढेको छ । ट्रष्ट रिसिट (आयात) कर्जा ०.४ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here