सूचीकृत कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता, कुन कम्पनी कति तिर्नुपर्ने ?

काठमाडौं, १० असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

नेप्सेले सूचना जारी गर्दै चालु आर्थिक वर्षको धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । नवीकरणका लागि असोज मसान्तभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नुका साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने पनि नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका सूचीकृत कम्पनीले धितोपत्रको वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्छ।

५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले भने १ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ।

यसैगरी ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएका डिबेन्चर तथा म्युचुअल फन्डहरुको वार्षिक नवीकरण शुल्क २५ हजार रुपैयाँ रहेको छ भने ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएमा ५० हजार रुपैयाँ नवीकरण शुल्क लाग्ने व्यवस्था विनियमावलीले गरेको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले नेप्सेको ग्लोवल आइएमई बैंकमा रहेकाे ७५०१०१००००७७५ खाता नम्बरमा नविकरण शुल्क डिपोजिट गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here