दशैँको लागि अग्रिम टिकट बुकिङ खुल्यो, नयाँ बसपार्कमा टिकट काउन्टर थप

काठमाडौं, ११ असोज । दशैँको लागि लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गते बिहान ७ बजेदेखि टिकट बुकिङ देखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ‘टिकट काउन्टर’ थप गरिएको छ । बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।

नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here