ट्राफिक जामले हैरान बनाएको छ ? यी हुन् काठमाडौंमा सबैभन्दा धेरै जाम हुने ८ स्थान

काठमाडौं, १२ असार । काठमाडौंमा ट्राफिक समस्याको भयावह अवस्था छ । ट्राफिक जामको कारण आफुले चाहेको समयमा गन्तव्यमा पुग्न असम्भव नै हुने गर्दछ ।

काठमाडौंका प्राय सबै चोकहरुमा विहान र साँझको समयमा जामको कारण सवारी आवागमन अस्तव्यस्त हुने स्थितीको सामना हामी सबैले गर्ने गरेका छौं ।

साघुँरो बाटो, अत्यधिक मात्रामा सवारी चाप, ट्राफिक नियमको पालना नगर्ने, दुर्घटना तथा अन्य कारणहरुले ट्राफिक जामको समस्या निम्तने गर्छ ।

खासगरी ‘अफिस टाइम’को समयमा जामको कारण धेरै समस्या भोग्नुपर्छ । सवारी जामको समस्या र काठमाडौंमा सबैभन्दा धेरै जाम हुने स्थानहरु कुन कुन हुन् भनेर हामीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक रवि कुमार पौडेलसँग सोधेका थियौँ ।

उनका अनुसार काठमाडौंका निम्न स्थानहरुमा सबैभन्दा धेरै ट्राफिक जामको समस्या रहेको छः

कालिमाटी\टेकु

कालिमाटी र टेकु क्षेत्रमा धेरै मात्रामा सवारी जाम हुने गर्दछ । खासगरी बिहान बेलुका अफिस टाईममा यस क्षेत्रमा धेरै मात्रामा सवारी जाम हुने गर्दछ ।
कालिमाटी र टेकु जोड्ने पुल साघँुरो भएको कारण पनि यहाँ धेरै मात्रामा सवारी जाम हुने गरेको हो ।

कालिमाटी टेकु जोड्ने गरी केही नयाँ पुल पनि बनाइएको छ तर, उक्त पुल निर्माण गर्दा मापदण्ड पुरा नभएको भन्दै हाल सवारी आवागमनमा रोक लगाइएको छ ।

थानकोट, कलंकी, बल्खु, दक्षिणकाली कीर्तिपुर लगायतका क्षेत्रबाट रत्नपार्क, बानेश्वर लगायतका भित्री शहरी क्षेत्रमा प्रवेश गर्नको लागि कालिमाटी हुँदै आउनुपर्ने भएकाले यो क्षेत्रमा सवारी चाप पनि अत्यधिक धेरै हुने गर्छ ।

महाराजगञ्ज

महाराजगञ्ज स्थित नारायणगोपाल चोक पनि धेरै समयसम्म ट्राफिक जाम पर्ने स्थानको रुपमा चिनिन्छ । ट्राफिक प्रहरी उपरीक्षक पौडेलका अनुसार महाराजगञ्जमा ट्राफिक समस्या अन्य चोकहरुको तुलनामा धेरै हुने गर्दछ ।

चक्रपथबाट रत्नपार्क छिर्ने मुख्य चोक भएको कारण र भिआइपीहरुको बसोबास भएको स्थान नजिकै भएका कारण पनि यहाँको सवारी आवागमन अस्तव्यस्त हुने गर्छ ।

राष्ट्रपति निवास, प्रधानमन्त्री निवास लगायत भिआइपीहरुका साथै विभिन्न दूतावासहरु यो क्षेत्रमा भएकाले यस क्षेत्रमा भिआइपीहरुको सवारीका कारण पनि सवारी आवागमनमा समस्या हुने गर्छ ।

बुठानिलकण्ठ, धापासी लगायतका क्षेत्रबाट काठमाडौंको भित्री शहरी क्षेत्र छिर्ने एकमात्र चोक भएका कारण कारण पनि यहाँ विभिन्न स्थानहरुबाट आएका धेरै संख्याका सवारीसाधनहरु आवतजावत गर्दा समस्या हुने गर्छ ।

चावहिल चोक

चाहिल चोकमा पनि अत्यधिक मात्रामा सवारी चाप भएको कारण धेरै बेरसम्म सवारी जाम हुने गर्छ ।

साँखु, मुलपानी, जोरपाटी, गोकर्ण, बौद्ध, कपन लगायतका घनाबस्ती भएका क्षेत्रबाट काठमाडौंको भित्री शहरी क्षेत्रमा प्रवेश गर्ने नाका भएकाले पनि यहाँ सवारी जामको समस्या निम्तिएको हो ।

थापाथली

ललितपुर क्षेत्रबाट रत्नपार्क न्यूरोड आउने थापाथली चोकमा धेरै मात्रामा सवारी चापका साथै थापाथली नजिकैको माइतीघरमा समयसमयमा हुने विभिन्न विरोधका कार्यक्रमले पनि यहाँ सवारी जाम धेरै हुने गरेको छ ।

त्यस्तै सिंहदरबार अगाडिको भद्रकाली पुल पनि धेरै सवारी जाम हुने अर्को चोक रहेको छ ।

केशरमहल\लैनचाैर

बालाजु, स्वयम्भु, सोह्रखुट्टे, गोंगबु लगायतका क्षेत्रबाट रत्नपार्क हुँदै शहरका भित्री क्षेत्रमा प्रवेश गर्न लैनचौर हुँदै आवतजावत गर्नुपर्छ । त्यस्तै सामाखुसी, महाराजगञ्ज तीरबाट पनि रत्नपार्क छिर्नको लागि लैनचौरकै बाटो धेरै प्रयोग हुन्छ ।

सबैतिरबार आउने गाडीहरु भेट हुने लैनचौर क्षेत्र र नजिकै पर्यटकीय क्षेत्र ठमेल भएकाले पनि यस स्थानमा सवारी आवागमनमा समस्या देखापर्छ ।

लैनचौरबाट कान्तिपथ हुँदै जमलतर्फको सडक साँघुरो भएकाले पनि यहाँ जाम हुने गर्छ ।

कोटेश्वर

काठमाडौंको धेरै सवारी जाम हुने अर्को स्थान हो कोटेश्वर । एयरपोर्ट नजिकैको यस चोकमा धेरै सवारी जाम हुने गर्छ । ८ लेनको रिंगरोड र काठमाडौं भक्तपुर सडकखण्ड क्रस हुने स्थान भएकाले पनि यहाँ धेरै सवारी चाप हुने गर्छ ।

विशेषगरी अरनिको लोकमार्ग हुँदै भक्तपुरबाट धेरै सवारी काठमाडौं भित्रने नाका भएकाले पनि यहाँ धेरै जाम हुने गर्छ । धेरै जाम हुने भएकाले सरकारले आगामी आर्थिक वर्षको बजेटमै कोटेश्वरमा सुरुङमार्ग बनाउने योजना समेत उल्लेख गरेको छ ।

स्वयम्भु

स्वयम्भुमा मानिसहरुको चापको साथसाथै सवारीको चापपनि धेरै हुने भएको कारण स्वयम्भुमा सवारी जाम धेरै हुने गर्छ ।

पृथ्वी राजमार्गबाट कलंकी हुँदै नयाँ बसपार्क आवतजावतको लागि धेरै ठूला यात्रुबाहक सवारी साधनहरुले यही बाटो प्रयोग गर्ने भएकाले पनि यहाँ जामको समस्या भयावह छ ।

कलंकी

कलंकीमा अन्डर पासबनेपछि कलंकीमा केही मात्रामा जामको समस्या हल भएपनि पुर्ण रुपमा भने सवारी जाम हटेको छैन् ।

चक्रपथमा चल्ने सवारीसाधनलाई अण्डरपासबाट सहजै आवतजावन गर्ने सुविधा भएपनि पृथ्वीराजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने ठूला सवारीसाधनहरु कलंकीबाटै प्रवेश गर्ने र बाहिरिने भएकाले जामको समस्या अझै पनि कायमै छ ।

त्यसका साथै बालाजु नयाँबसपार्क, रत्नपार्क, बसपार्क, कोटेश्वर, थानकोट सबै ठाउँमा जाने नाका भएको कारण कलंकीमा धेरै जाम हुने गरेको हो ।

गौशाला चोक

काठमाडौंमा धेरै सवारी जाम हुने अर्को चोक हो गौशाला चोक । एयरपोर्ट जाने सवारीसाधनहरु गौशालाहुँदै आवागमन गर्ने र पशुपति क्षेत्र नजिकै भएकाले पनि यहाँ ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ ।

साथै गौशालाबाट चावहिलतर्फ जाने चक्रपथ अन्य स्थानको तुलनामा साँघुरो भएकाले पनि यहाँ प्राय जाम भइरहेको हुन्छ ।

सवारी जाम कम गर्न के गर्ने ?

ट्राफिक प्रहरी उपरीक्षक पौडेलका अनुसार सवारी जामको समस्या हटाउने एकमात्र उपाय भनेको ट्राफिक नियमको पालना गर्नु हो ।

‘यसको लागि ट्राफिक नियमको पालना मात्रै एकमात्र उपाय हो’, उनले भने, ‘सबै मानिस आफ्नो नियममा बस्ने हो भने मात्रै पनि यस्तो समस्या कम हुन्छ ।’

त्यस्तै मोटरसाइकलको कारण काठमाडौंमा धेरै ट्राफिक जाम हुने गरेको पौडेलको अनुभव छ । बाईक चालकहरु एकछिन् पर्खेर नबस्ने ओभरटेक गरेर भएपनि छिटो जान चाहने भएको कारण बाईकले धेरै सवारी जाम निम्त्याउने पौडेल बताउँछन् ।

कतिपय स्थानहरुमा बाटो साघुँरो भएको कारण पनि सवारी जाम हुने गरेको र सवारी आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरी लागिपरेको बताउँदै सबैलाई ट्राफिक नियमको पालना गर्नसमेत उनी आग्रह गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here