निरन्तर घाटामा आयल निगम, दुई सातामा २ अर्ब २२ करोड घाटा हुने प्रक्षेपण

काठमाडौं, ७ कात्तिक । नेपाल आयल निगमको घाटा चुलिएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।

निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ। अनुमानअनुसार आगामी दुई सातामा २ अर्ब २२ करोड ६ लाख घाटा हुने प्रक्षेपण गरेकाे छ ।

यसमध्ये पेट्रोलमा ४० करोड ५३ लाख, डिजेलमा १ अर्ब ९ करोड र खाना पकाउने एलपिजी ग्यासमा ७५ करोड ७० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

मट्टितेलमा भने २ करोड ३३ लाख र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ९५ लाख नाफा हुने अनुमान छ ।

योसहित चालू आर्थिक वर्षमा मात्रै निगमको घाटा ८ अर्ब ७९ करोड २३ लाख पुगेको छ ।

इण्डियन आयल निगमले तोकेको मूल्यअनुसार घटबढ हुने इन्धनको मूल्यअनुसार चालू आर्थिक वर्ष सुरु भएकै दिन साउन १ गते तोकिएको मूल्यअनुसार १ अर्ब १२ करोड ६४ लाख रुपैयाँ घाटा भएको थियो ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ।

विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ। छ–सात वर्ष अघिको रु ३७ अर्ब ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो। गत आर्थिक वर्ष निगम फेरि करिब रू तीन अर्ब घाटामा गएको छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनको चोरी निकासी हुने सम्भावना बढेर गएको छ।

सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ। निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here