आज त्रिभुवन विमानस्थलमा सुरक्षा अभ्यास, दूर्घटना ठानेर नझुक्किन सर्वसाधारणलाई सूचित

विमानस्थल प्रवेशद्वार

काठमाडौं, १३ असार । आज त्रिभुवन विमानस्थलमा हवाई दूर्घटना, बम थ्रेट र त्यसक्रममा हुने गतिविधिको झल्को आउने गरी डेमो प्रदर्शन गरिदैछ ।

त्यसक्रममा उत्पन्न हुने गतिविधिबाट नागरिकले विमानस्थल भित्रै हवाई दूर्घटना या कुनै ठूलै अनिष्ट भएको शंका गर्नेछन् ।

तर, त्यो पूल स्केल अभ्यास भएका कारण शंका नगर्न त्रिभुवन विमानस्थल कार्यालयले स्पष्ट पारेको छ । शुक्रबार दिउँसो २ बजेबाट विमानस्थलको रिमोट वे नजिकै यस्तो अभ्यास हुनेछ ।

हवाई उडान सुरक्षा, मेडिकल एवम उद्धारसँग सम्बन्धित पूर्णकालिन अभ्यास गर्नुपर्ने प्रावधान अनुसार यस्तो अभ्यास हुने गरेको छ ।

शुक्रबार जहाजमा बम रहेको अवस्थामा गरिने अभ्यास गरिदैछ । एलर्ट ५ भनिने यस्तो अभ्यासमा बम भएको जहाजबाट यात्रुको सुरक्षा गर्ने, बमलाई डिस्पोज गर्ने र हवाई सुरक्षा स्थापित गर्ने हुन्छ ।

कुनै वायुयानमा बम भएको परिकल्पना गरी यो अभ्यास हुने भएको छ । त्यसबेला विमानस्थलको आकासमा धुँवाको मुस्लो आउनेछ । दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधनको बाक्लो उपस्थिति हुनेछ ।

शहर भरी केही घटना भएको झल्को आउने गरी गतिविधि हुनेछन् । करीव डेढ घण्टा विमानस्थल बन्द हुनेछ ।

विमानस्थलको आपतकालिन योजना अनुसार गर्नेपर्ने अभ्यास भएकाले यसमा नझुक्किन विमानस्थलले सर्वसाधारणलाई अपिल गरेको छ ।

संकटको अवस्थामा सरोकारवाला निकायबीचको समन्वय स्थापित गर्ने, सहयोग अभिवृद्धि गर्ने, सहभागी निकायले गर्नुपर्ने भूमि तथा जिम्मेवारीको मूल्यांकन गर्दै यस्तो अवस्था आइपरेमा कसरी सामना गर्ने भन्ने सम्बन्धमा अभ्यास हुनेछ ।

जनधनको कम क्षतिमा उद्दार गर्ने र छिटो विमानस्थल उडानको वातावरण बनाउने उद्देश्यले यस्तो अभ्यास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here