बेमौसमी वर्षाले धानबालीमा ८ अर्ब २६ करोडको क्षति, जीडीपीमा कृषिको योगदान घट्ने

काठमाडौं, ८ कात्तिक । बेमौसमी वर्षाका कारण देशको विभिन्न स्थानमा लगाइएको धानबालीमा सवा ८ अर्ब बढीको क्षति भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले खटाएको टोलीले सातैवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययन अनुसार ८ अर्ब २६ करोड ८० बराबरको धानबालीमा क्षति भएको हो ।

मन्त्रालयको अध्ययन अनुसार अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ । बढी क्षति हुनेमा लुम्बिनीको बर्दिया,कपिलबस्तु, बाँके र रुपन्देही रहेका छन् ।

लुम्बिनीमा ४ अर्ब ५१ कारोड बराबारको क्षति भएको छ । सुदूरपश्चिममा १ अर्ब ९१ करोड बराबरको धानबालीमा वर्षाले बढी क्षति पुर्याएको छ ।

प्रदेश १ मा ८० करोड, प्रदेश २ का ५६ करोड, सबैभन्दा कम बाग्मती प्रदेशमा ५ करोड ८० लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा १३ करोड, कर्णाली ३० करोड बराबरको धान बालीमा क्षति भएको तथ्यांकामा उल्लेख गरिएको छ । सुदूरपश्चिम कैलाली र कञ्चनपुर रहेका छन् । प्रदेश १ मा झापा, मोरङ र सुनसरी रहेका छन् ।

असोज ३१ देखि कात्तिक २ गतेसम्म लगातार परेको पानीका कारण किसानले भित्र्याउन लागेको धान बालीमा ठूलो क्षति पुगेको हो । कृषि सूचना प्रणाली व्यवस्थित बनाउन नसक्दा धान बालीमा बढी असर पुगेको किसानहरु बताउँछन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।

कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान २८ प्रतिशत छ। त्यसमध्ये धानको मात्रै १० प्रतिशत छ। धानमा भएको क्षतिले कुल ग्राहस्थ उत्पादनको योगदान घट्ने देखिन्छ।

मौसम पूर्वानुमानका तथ्यांक कृषकले बुझ्ने भाषा र समयमै पुयाउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको अनुमान गरिएको छ ।

वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।