चन्द्रागिरी–चित्लाङ सडकमा ढुंगाको व्यापार रोकिने, सडक निर्माणलाई तिब्रता दिइने

फाइलफोटो

काठमाडौं, २० कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले चन्द्रागिरी–चित्लाङ सडकमा भइरहेको ‘ढुङ्गा व्यापार’ बन्द गर्ने बताएका छन् ।

गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने उनले बताए ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न पनि तत्काल पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु,’ मन्त्री शर्माले भिने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’

उनका अनुसार काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल गरिने छ ।

यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने पनि मन्त्री शर्माको भनाइ छ ।

‘११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ । गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ,’ उनले भने, ‘शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ ।’

शङ्खधर साख्वालाई तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूती घोषणा गरिएको थियो । त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here